नेपालको पुँजी बजारमा पछिल्लो समय जलविद्युत समूह तीव्र रूपमा विस्तार भइरहेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको संख्या र कारोबारको आयतन दुवै दृष्टिले यस क्षेत्रले ठूलो हिस्सा ओगटेको छ । साना बचतकर्ता, आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपालीदेखि संस्थागत लगानीकर्तासम्मको आकर्षण जलविद्युत कम्पनीका सेयरमा देखिएको छ । पुँजी बजारले जलविद्युत कम्पनीहरूलाई दीर्घकालीन पुँजी जुटाउने सहज र सुलभ माध्यम उपलब्ध गराएको छ । अर्कोतर्फ, सर्वसाधारण लगानीकर्तालाई पनि उत्पादनशील क्षेत्रमा लगानी गरी लाभांश, पुँजीगत लाभ र दीर्घकालीन प्रतिफल प्राप्त गर्ने अवसर दिएको छ । जलविद्युत सेयरलाई कतिपय लगानीकर्ताले भविष्यको सुरक्षित सम्पत्ति, नियमित प्रतिफलको स्रोत र राष्ट्रिय विकासमा सहभागिताको माध्यमका रूपमा बुझ्न थालेका छन् ।
एउटा सिक्काका दुई पाटा झैँ, जलविद्युतको सेयरप्रति आकर्षणसँगै केही गम्भीर प्रश्न पनि उब्जिएका छन् ।
• “के सबै जलविद्युत कम्पनीहरू दीर्घकालीन रूपमा लगानीयोग्य छन् ?”
• “के सर्वसाधारण लगानीकर्ताले आयोजना जोखिम, निर्माण ढिलाइ, लागत वृद्धि, उच्च ऋणभार, प्रसारण समस्या, प्राकृतिक जोखिम र कमजोर सुशासन जस्ता पक्षहरूलाई पर्याप्त रूपमा बुझेका छन्?”
• “के जलविद्युत सेयरमा भइरहेको लगानीले सर्वसाधारणलाई दीर्घकालीन प्रतिफल दिन्छ, कि केवल बजार हल्ला, आईपीओ मोह र सट्टेबाजी मनोविज्ञानको विस्तार मात्र हो?”
जलविद्युत आयोजना सामान्य व्यावसायिक कम्पनीभन्दा फरक प्रकृतिको लगानी हो। धेरै आयोजना निश्चित अवधि पूरा भएपछि राज्यको स्वामित्वमा हस्तान्तरण हुने (BOOT Model) मा आधारित हुन्छन् । निर्माण अवधि लामो हुन्छ। लागत ठूलो हुन्छ । ऋण निर्भरता उच्च हुन्छ । प्रतिफल प्राप्त हुन पनि समय लाग्छ । यसकारण यो अन्य व्यावसायिक कम्पनीभन्दा नितान्त फरक र संवेदनशील प्रकृतिको लगानी हो । आजको मूल बहस “लगानी गर्ने कि नगर्ने?” भन्ने नभई, “कुन कम्पनीमा, कुन मूल्यमा र कस्तो जोखिम बहन गर्ने क्षमताका साथ लगानी गर्ने?” भन्ने हो। यो लेखले जलविद्युत क्षेत्रमा सर्वसाधारणको लगानीलाई अवसर र जोखिमको कसीमा राखेर वस्तुनिष्ठ विश्लेषण गर्ने प्रयास गरेको छ ।




